काठमाडौँ । करिब ७ महिनाअघि परीक्षणका दौरान युरोपेली सडकमा कुदेको एमजीको एस–फाइभ विद्युतीय गाडी (ईभी) अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । उक्त गाडी किन्न चाहनेले अब धमाधम बुकिङ सुरु गर्दा हुन्छ ।
नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार एमजी एस–५ सार्वजनिक गरेको हो ।
कम्पनीले एस–५ ईभीलाई तीन भेरियन्टमा सार्वजनिक गरेको छ । यसको सुरुआति भेरियण्ट ४९.१ किलोवाट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार तोकिएको छ भने त्यति नै ब्याट्री क्षमताको लक्जरि भेरियन्टको मूल्य ४९ लाख ९९ हजार तोकिएको छ । तर अपग्रेडेड भेरियन्टमा ६२.२ किलोवाट लक्जरिको मूल्य ५४ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।
आकार र क्षमता: एमजी एस–५ को लम्बाइ ४४७६ मिलिमिटर (एमएम), चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलवेस र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ । एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस–५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो ।
गाडीमा दुई ब्याट्री अप्सन (४९.१ किलोवाट र ६२.२ किलोवाट आवर) पाउन सकिन्छ । यसमध्ये ४९.१ किलोवाट आवरको ब्याट्री प्याकले ३४० किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
गाडीमा उपलब्ध एड्भान्स ड्राइभर असिस्ट सिस्टमले ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुने कम्पनीको दाबी छ । गाडीको क्याविनमा मिनिमलिस्टिक डिजाइन अप्रोच राखेको छ ।
यसको ड्यासबोर्डको बीचमा १५.६ इञ्चको फ्लोटिङ टचस्क्रीन रहेको छ । जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।