काठमाडौँ । नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो ।
३०औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दै छन् ।
भोलि कार्यालय समयको सुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । यद्यपि नेपाल प्रहरी प्रधान कार्यालयमा निवृत्त हुन लागेका आइजिपी कुँवरसहितका उच्च अधिकृतको अहिले चलिरहेको बिदाइ समारोहमै कुँवरले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गर्दैछन् ।
थापाले कार्यभार सम्हाल्ने क्रममा भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।
वि.स. २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन सुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । भक्तपुरबाट प्रहरीको आइजिपी हुने थापा दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आइजिपीको जिम्मेवारी बहन गरिसकेका छन् ।
थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगन्ज काठमाडौँको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।
उनी बेरुजु फर्छ्योट कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेकाले २०७५, ०७६, ०७७ र ०७८ सालमा प्रशंसा पत्रसहित पुरस्कृत अधिकृत हुन् । प्रहरी कार्य (पुलिसिङ), मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापनसहित विपद् व्यवस्थापनमा उनको विशेष अनुभव रहेको मानिन्छ ।