फेसबुकमा पछ्याउनुहोस्
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँझो जग्गाको समस्या समाधान गर्न दीर्घकालीन रूपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको तर्फबाट सभापति कुसुमदेवी थापाले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, सार्वजनिक तथा हदबन्दी छुट जग्गाको उपयोग तथा संरक्षण तथा संवर्द्धनका समस्या समाधान गर्ने सम्बन्धमा दीर्घकालीन रूपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइन् ।
उनले गुठी किसानको समस्या समाधान गरी, पीडित किसानको मागको सम्बोधन गर्ने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरूसँग थप छलफल तथा परामर्श गरी कार्य सम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइन् ।
भेरी शीत भण्डारको अनुदान दिइएको विषयमा अनुदान कायम हुने सम्बन्धमा आवश्यक निर्णय गर्न पनि उनको निर्देशन छ । समितिले बाँझो जग्गाको उपयोगबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,अर्थ, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।