काठमाडौँ । यस वर्षको वसन्तकालीन सिजनका लागि हिमाल आरोहण गर्न हालसम्म नेपालसहित विभिन्न देशका एक सय ९८ आरोहीले अनुमति लिएका छन् । आरोहीले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २९ हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मिटर) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त सिजन मानिन्छ । यो समयमा अधिकांश आरोहीहरू सगरमाथा आरोहण गर्न आउने गर्छन् ।
विभागका अनुसार अन्नपूर्ण–१ (८,०९१ मिटर) आरोहण गर्न ६६ जना र अन्नपूर्ण–५ का लागि आठ जनाले अनुमति लिएका छन् । यस्तै, मकालु हिमाल (८,४८५ मिटर) आरोहणका लागि १५, ल्होत्से (८,५१६ मिटर) आरोहणका लागि १५ जनाले अनुमति पाएको विभागले जनाएको छ । पर्यटन विभागले वसन्त यामका लागि धमाधम आरोहण अनुमति दिइरहेको छ ।
विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू सम्बन्धित हिमालतर्फ जाने क्रम सुरु भइसकेको छ । तर, अझै पिक चढ्न भने सुरु गरिएको छैन । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइसफल डाक्टरहरूले बाटो बनाउने काम गरिरहेका छन् । तर, खराब मौसमका कारण रोप फिक्सिङको काम गर्न कठिन भइरहेको बताइएको छ ।
अहिले खुम्बु आइसफल क्षेत्रमा भर्याङ राख्ने र डोरी टाँग्ने काम भइरहेको छ । अझै आधार शिविरबाट दोस्रो शिविरसम्म पनि बाटो बनाउने काम सम्पन्न भइसकेको छैन । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउँदै छ ।