आइतबार सम्पन्न पदाधिकारी बैठकले सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई २०२५ अप्रिल १५ भित्र संघको मेम्बर इन्फरमेसन सिस्टममार्फत सदस्यता खुला गर्न निर्देशन दिइएको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए । बैठकले एमआईएस प्रणाली बाहेक अन्य माध्यमबाट प्राप्त सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ ।
संघको निर्देशन अवज्ञा गर्ने एनसीसीलाई केन्द्रीय स्तरबाट सदस्यता वितरणका लागि प्रमाणीकरण गर्ने व्यक्ति तोकिनेछ ।
यस्तै, आफ्नै भवन निर्माण गर्न चाहने राष्ट्रिय समन्वय समितिहरूलाई प्रोत्साहन स्वरूप आवश्यक लागतमा सदस्यता शुल्कको ४० प्रतिशत आर्थिक सहयोग केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने निर्णय पनि गरिएको छ । बैठकले १२औँ महाधिवेशन तथा एकता अभियानलाई सर्वोच्च अदालतको निर्णयको भावना अनुसार विधिसम्मत रूपमा सञ्चालन गरिने प्रतिबद्धता दोहोर्याएको छ ।
सबै एनसीसीहरूको निर्वाचन सन् २०२५ को जुलाई महिनाभित्र सम्पन्न गरी त्यसपछि महाधिवेशन आयोजना गरिने निर्णय पनि बैठकले पुनः पुष्टि गरेको छ ।
गैरआवासीय नेपाली संघले नेपालमा जेठ महिनामा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदमा प्रवासी नेपालीहरूको सहभागिता सुनिश्चित गर्न ७५ लाखको बजेट प्रस्ताव गरेको छ । बैठकले टिम खेलकुदका लागि खेलाडी छनोट र नेपालसम्मको यात्रा व्यवस्थापन सम्बन्धित एनसीसीलाई जिम्मा दिने निर्णय गरेको छ । संघको केन्द्रीय स्पोर्ट्स एकेडेमीको समन्वयमा करिब आधा दर्जन खेलमा सहभागिता जनाइनेछ ।
क्रिकेटको व्यवस्थापन अस्ट्रेलिया एनसीसी,भलिबलको जापान एनसीसी, र फुटबलको माल्टा एनसीसीलाई जिम्मा दिइने भएको छ । युवा उपाध्यक्ष तथा युवा संयोजकले बैठकमा राष्ट्रिय खेलकुदसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए । जसलाई सम्बन्धित समितिहरू तथा व्यवस्थापन नियमसँगै सर्वसम्मत रूपले पारित गरिएको संघका प्रवक्ता फणीन्द्र पन्तले जानकारी दिए ।
बैठकमा थाइल्यान्ड, कम्बोडिया, र युरोप क्षेत्रीय सम्मेलनका आयोजक प्रतिनिधिहरू, सचिवालयका प्रमुख कार्यकारी निर्देशक तथा प्राविधिक एवम् लेखा शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।