२०८२ बैशाख ६, शनिबार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडफोड गर्ने छ जना पक्राउ

  • नेपाल युग
  • २०८२ बैशाख ४, बिहिबार
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडफोड गर्ने छ जना पक्राउ

काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडफोड गरेका थिए ।

अस्पतालको छतमा चढेर उनीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेटाएर हेटौंडा अस्पताल राखेका थिए । नेकपा एमालेले आफ्ना नेताको नाम राखेर हेटौंडा अस्पतालको अस्तित्व मेट्न खोजेको भन्दै उनीहरूले आफूहरूको काममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको समर्थन रहेको दावी गरेका थिए । पछि केही राजनीतिक दलले समर्थनको दावी झुठो भएको प्रतिक्रिया दिएका थिए ।

घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरूलाई हिरासतमा लिएको हो ।

६ युवा पक्राउ परेपछि समथर्क युवाहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका– १ मा पर्ने खण्डमा केहीबेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले पूर्व–पश्चिम राजमार्गमा पर्ने मुख्य सडकखण्ड केहीबेर अवरुद्ध पारेका थिए । प्रहरीले युवालाई हटाएर अहिले राजमार्ग खुलाइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस