२०८१ चैत्र २५, सोमबार

अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यले तीनकुने घटना: गृहमन्त्री लेखक

  • नेपाल युग
  • २०८१ चैत्र २२, शुक्रबार
अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यले तीनकुने घटना: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने एकमात्र उद्देश्यका साथ राजावादी समूहले तीनकुनेमा हिंसक घटना घटाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए ।
उनले आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्बाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्ने विश्वास दिलाए ।
‘शान्तिपूर्वक भेला हुन पाउने संविधान प्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न सकिँदैन। आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार संविधानतः सुनिश्चित हुँदाहुँदै अराजक शैलीमा भएको घटनाको कानुनी र नैतिक दायित्व यसका आयोजक र संलग्नहरूले नै लिनु पर्दछ भन्ने कुरामा सरकार प्रस्ट छ र सोही अनुसार गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरिने कुरामा विश्वस्त रहन आग्रह गर्छु’, गृहमन्त्री लेखकले भने– ‘आगामी दिनमा यस प्रकार गैर जिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको ब्यहोरा निवेदन गर्दछु। साथै यस किसिमका अराजक गतिविधिहरूमा संलग्न नहुन सम्मानित समितिमार्फत आम नागरिकहरूमा हार्दिक अपिल समेत गर्दछु ।’


मन्त्री लेखकले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने नागरिक अधिकारको चरम अवमूल्यन हुनेगरी व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सवारी साधनमा भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो वा होला भनेर अनुमानसम्म पनि आजको सभ्य समाजले गर्न नसक्ने बताए ।
‘घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रूपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै सक्दैन। आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ । तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउने सम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ’, लेखकले भने, ‘यस्तो कार्यको कानुनी दायित्व यसका रचनाकार तथा आयोजक र संलग्नहरूले लिनु पर्दछ भन्ने कुरामा सरकार प्रस्ट छ ।’
लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा संचारजगत रहन्छ भन्ने कुरा सञ्चार गृहमा खोजी खोजी भएको आक्रमण भएबाट समेत पुष्टि हुने बताउँदै उनले सरकार संचारकर्मी र सञ्चार गृहको सुरक्षामा संवेदनशील रहेको र पूर्ण सुरक्षाको प्रबन्ध मिलाउने विश्वास व्यक्त गरे ।
आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्बाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्नेमा उनको जोड थियो ।
काठमाडौँको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी दुर्गा प्रसाईँको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थिए ।
‘प्रदर्शनका क्रममा अगुवा मध्येका एक निज दुर्गा प्रसाईँ स्वयंले दिउँसो बा. प्र. ०१–०२८ च. ०२०१ नं. को गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै र भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीहरूलाई किच्ने नियतका साथ सुरक्षा घेरा तथा ब्यारिकेड माथि बलपूर्वक गाडी हाँकेपछि माहौल बिग्रिन पुगेको थियो’, लेखकले भने– ‘उक्त घटना लगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल लगायतका बस्तु प्रहार गरेका थिए ।’

कार्यक्रम स्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भिडलाई उत्तेजित बनाउने गरी सबै साथीहरू परपर बसेर हेर्ने होइन अगाडि बढ्नोस्, संसद् भवनलाई इङ्गित गर्दै बानेश्वरतर्फ अगाडि बढ्नुहोस् जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटक पटक सचेत गराएको लेखकको भनाई छ ।
‘तथापि नेतृत्व गरेकाहरूबाटै उक्साहट गरेकोले भिड थप आक्रामक भएको हुँदा भिडलाई तितरबितर गरी परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले वाध्यात्मक रूपमा क्रमशः बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो’, उनले भने– ‘अनियन्त्रित भिडले सडकको ट्राफिक आइल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मी माथि हरतरहले आक्रमण गर्ने जस्ता उच्छृङ्खल गतिविधि निरन्तर जारी राख्दै नजिकै रहेको इन्द्रेणी सहकारी रहेको भवनमा ढुंगा हान्ने तथा आगजनी गर्ने कार्य सुरु गरेका थिए। आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हर सम्भव प्रयास भएता पनि आगो निभाउनका लागि आउँदै गरेको दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल आगो नियन्त्रण गर्न नसकिएको हो ।’
प्रतिनिधि सभाका माननीय सदस्य धवल समसेर राणा सहित आपराधिक कार्यमा संलग्न १४८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले जस मध्ये ६६ जना व्यक्तिमाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भई रहेको छ र अन्य ८९ जना व्यक्तिहरूलाई परिवार एवम् आफन्तको जिम्मा लगाएर छाडिएको बताए ।
‘घटनाको अनुसन्धान र छानबिनको क्रम जारी रहेको हुँदा संलग्न थप मानिसहरू खोजबिन तथा अनुसन्धान हुन सक्नेछ । तथ्य र प्रमाणमा आधारित भई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न  निर्देशन गरिएको र सोको सुनिश्चितता गरिने कुरामा म विश्वास दिलाउन चाहन्छु’, उनले भने– ‘सुरक्षा निकायको समन्वयात्मक परिचालन तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सुरक्षाकर्मीहरूले आफू घाइते हुँदा समेत मानवीय क्षति नहोस् भनी अत्यन्तै संयमता अपनाएको कारण थप क्षति हुन पाएन । भीडको उद्दण्डता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठुलो क्षति हुने अवस्था सिर्जना हुने थियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस