फेसबुकमा पछ्याउनुहोस्
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरका विषयमा छलफल गर्न राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन गर्ने भएको छ ।
परिषद्ले आज पत्रकार सम्मेलन गरी चैत्र २८ देखि ३० सम्म स्वास्थ्य, जलवायु र जनसङ्ख्यामा परिवर्तन दिगो र समतामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली विषयमा ११ सयभन्दा बढी विज्ञसँग छलफल गर्ने जनाएको हो ।
परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनमा १ हजारभन्दा बढी राष्ट्रिय र १ सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिकहरू सहभागी हुने बताए । दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसङ्ख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरू र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुहरूमा केन्द्रित भएर छलफल गरिने बताएका छन् ।
सम्मेलनमा २७६ विषयमा भएका अनुसन्धानहरू प्रस्तुत हुने जनाइएको छ। सम्मेलनबाट प्राप्त निष्कर्ष नीति निर्माण बनाउन सहयोग गर्ने परिषद्ले जनाएको छ ।